सरकार भन्दे- मैले के खाने, के लाउने अनि के के गर्ने ? नत्र शासकशैलीमा पकडेका मेरा साथीलाई छोड्दे
उहिलेउहिले राजाहरू बेलाबेला खोपीबाट निस्कन्थे । राजाहरूलाई आफू विष्णुको अवतार हो भन्ने कुरामा दृढ विश्वास भए तापनि, ती विद्रोहदेखि तर्सिन्थे । तिनका सुरक्षामा कुनै कमी नआओस् भन्ठान्थे । र, आफ्नो खोपीको निश्चित परिधिभित्र आम मान्छेलाई प्रवेश नगर्न उर्दी जारी गर्थे ।
समय बित्दै जाँदा राजाको धाक अत्ति हुँदै गयो । मानिसहरूले खोपीभित्रै पसेर राजाको कठालो समाते । र, राजा पछारियो । संसारभरि यस्तै भयो । सामन्तवादको केन्द्रीय संस्थाहरू एकएक गरेर पतन भए । तिनका निषेधित क्षेत्र बाँकी रहेनन् । मात्र तिनका खोपी बाँकी रह्यो । हामीले त्यसलाई दरबार भन्यौँ अनि नयाँ शासनसत्ता गर्ने भवन मान्न तयार भयौँ ।
बेलाबेला संसारमा तानाशाहहरू पनि जन्मिए । ती आफूलाई 'सर्वशक्तिमान साँढे' सोच्थे । वरिपरि केही पूजारी पालेर तिनले आफूलाई देवता घोषणासमेत गर्थे । आफू बस्ने ठाउँलाई मन्दिर घोषणा गर्थे । तिनले पनि उसैगरी निषेधित क्षेत्र बनाउँथे ।
तिनका पनि फुर्ती बढी भयो । मानिसहरूले विद्रोह गरे । र, तिनलाई नफर्किने खोलामा हुल्दिए । न तिनको निषेध रह्यो, न तिनको क्षेत्र बाँकी रह्यो ।
जोडबल गरियो । भएजति शक्ति लगाइयो । परिवर्तनको सपनामा हजारौँ भुइँमान्छे शहीद भए । मैमत्त शासकलाई ढाल्नेगरी आन्दोलन भए । आन्दोलन जितियो । आसा थियो- आम उत्पीडित श्रमजीवी वर्गको आफ्नो तन्त्र- लोकतन्त्र हामीले भेट्यौँ । तर, हाम्रो लडाइँको भर्याङ् चढेर बुर्जुवा/सम्भ्रान्त वर्गले आफ्नो लोकतन्त्र बनायो । त्यसपछि त्यही वर्ग शासक भयो ।
बिस्तारै, सत्तामा उक्लेको त्यो वर्गलाई अर्को विद्रोहको डर लाग्न थाल्यो । जनता कुर्लेर दरबारका पर्खाल भत्काइदेलान् भन्ने डरले तिनले पनि राजा/तानाशाहहरूले जस्तै 'निषेधित क्षेत्र' बनाउन थाले । जहाँजहाँ मानिसहरूले आफ्नो अधिकारका लागि, शासककाविरूद्ध प्रश्न गर्न थाले, त्यहाँ त्यहाँ शासकले निषेधित क्षेत्रको बोर्ड टाँस्न थाल्यो ।
हेक्का रहोस्- हरेक आन्दोलनले यस्ता निषेधित क्षेत्र तोडेको छ । हरेक पटक जब शासकले टाँसेको निषेधित क्षेत्रको बोर्ड ढलेको छ, शासक ढलेका छन् ।
यो भूगोल, यो शहर हाम्रो हो । हाम्रो स्थानमा हामीलाई निषेध गर्ने अधिकार कसैले तिनलाई दिएको छैन । यस्ता निषेधित क्षेत्र भनेर आफू लुकामारी/लुछाचुँडीको खेल खेल्ने नाटक बन्द गरियोस् ।
वातावरणीय संकट निदान गर्नुपर्छ भनेर आन्दोलनरत साथीहरूलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको नाममा समातेर यो राज्यले आफ्नो शोसक चरित्र उदाङ्गो पारेको छ ।
हाम्रा साथीहरूलाई तुरुन्तै रिहा गरियोस् । कि त-हरेक दिन शासकको एउटा प्यादो आएर मलाई भनोस् कि म कुन बाटो हिँड्नुपर्छ, कुन दिशा हेर्नुपर्छ, के खानुपर्छ, के लाउनुपर्छ, कस्तो बोल्नपर्छ .... सब । मलाई हरेक बिहान केके गर्नुपर्ने हो जानकारी चाहियो ।
तपाईको प्रतिक्रिया