विचार/ब्लग

चन्द्रजीको सम्झनाः प्रदीप नेपाल

मंगलबार जेठ १८, २०७८/ Tuesday 06-01-21

केही दिन पहिले उदयमान र इमान्दार नेता पशुपति चौलागाईंको निधन पनि कोरोनाकै कारण भएको थियो । त्यतिबेला मैले सामाजिक सञ्जालको फेसबुकमा लेखेको थिएँ–यो कोरोना पनि बाँच्नु पर्नेलाई लान्छ, मर्नु पर्ने तिर आँखै लाउँदैन।  कुरो अहिले पनि त्यस्तै लेख्ने त्यस्तै वाक्य लेख्ने मौका  प¥यो ।

अस्ति बिहान फेसबुकको पातोमै पहिलो दुःखदायी खबर थियो–बान (ब्रोडकास्टिङ एशोसिएन अफ नेपाल)का चन्द्र न्यौपानेको कोरोनाका कारण दुःखदायी निधन भयो । स्तव्ध भएँ म । मलाई पत्यारै लागेन ।

एउटा अटुट बन्धन हुन्छ राजनीतिक मित्रताको । त्यसको डोरो निकै बलियो हुँदो रहेछ । म थिएँ–सप्तकोशी एफ.एम.को संचालक समितिको अध्यक्ष । उहाँ हुनुहुन्थ्यो, रेडियोको डाइरेक्टर । म काठमाडौंमा बस्छु, सप्तकोशी एफ.एम. चलेको छ इटहरीमा । 

रेडियो शुरु गर्दा साह्रै कष्टमा थियौं हामी । चन्द्रजीलाई व्यवस्थापक बनाएपछि नै हो रेडियो उकालो लागेको । अरू धेरै साथीको सहयोगी भूमिका छ । तर चन्द्रजीलाई अरूभन्दा धेरै जस दिनुपर्छ ।

रेडियोको आफ्नै जग्गा र घर भयो । रेडियोले स्थायित्व पायो । पूर्वाञ्चलको प्रमुख रेडियो पनि भयो । पछिल्लो भेटमा उहाँले भन्नु भएको थियो, प्रेम दाइका अनुसार अब हामी ऋणमुक्त भयौं ।

‘तेसो भए धन्यवाद । तपाईको भविष्य धेरै उज्वल छ है’ म उहाँलाई भन्थेँ ।

‘किन र सर’ उहाँ अबोध पाराले सोध्नु हुन्थ्यो ।

‘यसरी समस्याको समाधान खोज्ने पाउन मिहिनेत गर्ने मानिसको भविष्य धेरै उज्यालो हुन्छ ।’

तर, त्यो उज्यालोको चमक देखिन नपाउँदै उज्यालो आफैं अनन्त आकाशमा बिलायो ।

हाम्रो टिममा उहाँ सबैभन्दा कान्छो हुनुहुन्थ्यो । सायद, हामी सबै सुरक्षा भत्ता खाने उमेरका भयौं होला । उहाँ जानु भयो र उहाँको स्मरणमा म यी केही शब्दहरू लेख्दै छु ।

मृत्युपछि गीत गाउने चलन छ नेपालमा । अघिल्लो दिनसम्म सत्तोसराप गरेको मान्छे मरेपछि सोही मान्छेले यसो भनेर भाषण गर्छ,‘उहाँजस्तो असल कोही पनि छैनन् नेपालमा ।’ चन्द्र न्यौपानेको कुरा लेख्दा शायद तपाईलाई पनि त्यस्तै लाग्ला । तर, मान्छेको देवत्वकरण गर्ने कुरामा मलाई विश्वास छैन । यही विश्वासका कारण पार्टीमा मैले कसैको दौराको फेर समातिन र समात्ने पनि छैन ।

मान्छे एक्लै आयो (जो पनि), एक्लै बाँच्छ । एकदिन यही माटोमा एक्लै आफूलाई बिसर्जन गर्छ । यो स्वतन्त्र मानिसको परिचय हो र मार्क्सवादको सच्चाइ पनि यही हो । यो वैयक्तिक स्वतन्त्रता हो ।

ठूलाका दौराको फेर समातेर माथि जानेहरू मार्क्सवादी हुँदैनन् । गुट भनेको राजनीतिक भाषामा सामन्तवाद हो । एउटा ठूला र अरू सबै उसका गोठाला । गुटलाई मार्क्सले यसरी सकारेका छन्–हामी ती कम्युनिष्ट भन्दा भिन्न छौं जो समाजलाई एउटा ठूलो ब्यारेक बनाउन चाहन्छन् । हामीले पहिले वैयक्तिक स्वतन्त्रतामा विश्वास गर्दछौं । किनभने हामीलाई थाहा छ, एउटा स्वतन्त्र मान्छेले मात्रै अरूलाई स्वतन्त्र जीवन बाँच्न दिन्छ ।’

चन्द्रजीको मार्क्सिसय विचारमा अघोर विश्वास थियो । राष्ट्रपतिसँग सिधै सम्पर्क गर्न पाउनु हुन्थ्यो । तर, त्यसको दुरुपयोग उहाँले कहिल्यै गर्नु भएन । पछिल्लो पाली उहाँले राष्ट्रपतिबाट शायद कुनै पदक पाउनु भयो । पत्रकारितासँग जोडिएको त्यो पदक उहाँको अधिकारको कुरो थियो । किनभने रेडियो संचालनमा उहाँको कुशलता हामीले देखेकै थियौं । रेडियो प्रसारण संघको अध्यक्ष त उहाँ पहिलेदेखि नै हुनुहुन्थ्यो । यस्तो मानिस सम्मानित हुनु स्वभाविकै थियो ।

उहाँ राम्रो पत्रकार पनि हुनुहुन्थ्यो । उहाँ बेला बेलामा इटहरीबाट म, काठमाडौंमा बसेको मानिसलाई पार्टीको गुटको समाचार पनि दिनुहुन्थ्यो । खास गरेर सरकारी गुटको ।

‘अब सकृय राजनीति नगर्ने भन्नुभाको साँच्चै हो ?’ उहाँले एकदिन सोध्नु भयो ।

‘साथीहरूको ताल यस्तो छ, कुनै न कुनै गुटमा नलागी माथि जान सकिँदैन । तपाईं आफैं सरकारसँग जोडिनु भएको छ । साथीहरूले जनताको काम गर्छन् भन्ने विश्वास पनि अब छैन । नेकपा(एमाले) जनताको पार्टी रहेन अब ।

‘धेरै साथीहरू पहिले विचारको हिसाबले दलाल पुँजीवादको दलदलमा फस्नु भएको छ । बरु स्वतन्त्र हिसाबमा काम गर्ने । सकेसम्म एमाले कै सेवा गर्ने । जे भए पनि आफैंले जन्माएको र हुर्काएको पार्टी हो । साथीहरूले त्यो पनि गर्न दिएनन् भने एक्लै भए पनि जनताको बहुदलीय जनवादको सिपाहीं भएर काम गर्ने हो ।’

मेरो लामो व्याख्यान सुनेर उहाँले भन्नुभयो–हुन त बर्बरिक उपन्यास लेखेपछि तपाईं राजनीतिक क्षेत्रको काम सक्नुभयो जस्तै भन्दा पनि भो । तर पार्टी नेतृत्वमा तपाईंको अनुपस्थिति हाम्रा लागि नराम्रो नै हुने भयो ।’

मान्छे सधैं काम गर्न सक्दैन, अरूलाई जस्तै मलाई पनि आराम गर्न मन लाग्छ । अब गर्ने पालो तपाईंहरूको हो ।’

नेकपा(एमाले)को अँध्यारो कालमा पशुपति चौलागाई र चन्द्र न्यौपाने जस्ता इमानी शालीन र सक्रिय साथीहरूको निधन भयो । हामी तपाईंहरूकै अभाव पुर्ती गर्नेछौं भन्ने हाम्रो बेला पनि रहेन । त्यो भन्नु भनेको उहाँभन्दा पछिको पुस्ताका साथीहरूको जिम्मेवारी हो ।

हामीले दुई पुस्ताको भाग खाएछौँ । तर हामीले गर्न केही सकेनौ । पचास पचास वर्ष जनताको दैलो कुरेका हाम्रा साथीहरूले त्यो दैलो बिर्सनु भयो भने हामीभन्दा ठिक्क पछिको पुस्ताले दलाल पुँजीपतिको एकाधिकारलाई चिर्न पनि सक्दैन । नेपाली जनताको चेतना पनि त्यति माथि गएको हुँदैन ।

उहिले, भूमिगत कालमा हामी ‘नेपालमा राष्ट्रिय पुँजीपतिको अस्तित्व खोज्न हिँड्थ्यौँ । भेटिन्थे केही नाम चलेकै व्यापारीहरू पनि तर अहिले ती मध्ये धेरैले पनि चोला फेरेको देखिन्छ । उनीहरू पनि दलाल पुँजीपति बनेर उल्टो सुल्टो कमाइ खान थालेका छन् ।

रेडियो एउटा राम्रो प्रचार माध्यम हो । लामै समयसम्म जान्छ तरिका मिलाएर चलाउने हो भने । पछिल्ला दिनहरूमा चन्द्रजी भन्नुहुन्थ्यो, ‘अब पेल्दैछ टेलिभिजनले । के गर्ने सर ?’

‘हामीले राम्रो रेडियो चलाएका छौँ, पूर्वाञ्चलको आवाज भन्न पाएका छौं । यस्तो बेलामा टेलिभिजनतिर लाग्दा हामी यता न उताका हुँदैनौँ ?’ मेरो कुरामा आत्मविश्वास थिएन नै, न त चन्द्रजीसँग त्यसको तत्कालै जवाफ थियो ।

उहाँ आफू संलग्न रेडियोका बारेमा जति कुरा गर्नुहुन्थ्यो, उति नै देशभरका खुलेका एफ.एम. रेडियोको स्थायित्वका बारेमा चिन्ता पनि व्यक्त गर्नुहुन्थ्यो । तत्कालका समस्या समाधान गर्दै गए भविष्यको बाटो समयले खोल्दै जान्छ भन्ने हाम्रो निष्कर्ष रहन्थ्यो । तर, कति कुरामा चन्द्रको चित्त बुझ्दैनथ्यो ।

उहाँमा रहेको काम गर्ने हुटहुटिले मलाइ पनि पिरोल्थ्यो । जति पिरोलिए पनि अन्ततः चन्द्जी यो धर्तीमा रहनुभएन । अब हामीलाई चन्द्र र चन्द्र जस्ता धेरै चन्द्रहरूको अनुभव प्रेरणा र प्रज्ञाले केही गर्न घच्चघच्चाइ रहनेछ ।

 

 

 

तपाईको प्रतिक्रिया