सप्तकोशी समाचार

अलवीदा चन्द्र सर...

शनिबार जेठ १५, २०७८/ Saturday 05-29-21
न्यौपानेको पार्थीव शरीर/तस्विर:खेमराज सापकोटा

इटहरी । यो समाचार प्रस्तुत गरी रहनु पर्दा हामी अत्यन्तै मर्माहत छौँ । सप्तकोशी मिडिया प्रा.लि.बाट सञ्चालित सप्तकोशी एफ.एम.का स्टेसन म्यानेजर, चन्द्रप्रसाद न्यौपानेको शुक्रवार ५० वर्षको उमेरमा निधन भएको छ । 

रेडियो सञ्चालकहरूको सङ्गठन, ब्रोेडकास्टिङ एसोसियसन नेपालका केन्द्रिय अध्यक्ष तथा विज्ञापन बोर्डका राष्ट्रिय सदस्य न्यौपानेको विराट शिक्षण अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो ।

उहाँको पार्थीव शरीरलाई शुक्रवार नै इटहरी स्थित बुढीगंगा घाटमा दाहसंस्कार गरिएको छ । न्यौपानेको पर्थीव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य रेवती भण्डारी, तैयव हुसेन, भगवती चौधरी, इटहरी नगर अध्यक्ष याम सुब्बाले पार्टीको झन्डा ओढाउनु भयो । 

पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश एककी उपसभामुख सरस्वती पोख्रेल, सप्तकोशी मिडियाका प्रबन्ध निर्देशक प्रेम बस्नेत, अन्य राजनीति दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु पुग्नु भएको थियो । 

एन्टिजेन परीक्षणमा गत वैशाख २० गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्नु भएका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारमा प्लाज्मा थेरापीको साथमा रेम्डीसिभिर पनि प्रयोग गरिएको थियो । पछिल्ला केही दिन उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । 

इटहरी ४ निवासी न्यौपानेको निधनले सप्तकोसी एफ.एम.ले मात्रै नभएर मुलुकले नै एक कर्मशील सञ्चारकर्मी गुमाएको छ । नेकपा एमाले सुनसरीका सदस्य समेत रहनुभएका न्यौपाने, सामाजिक तथा राजनीतिक वृत्तमा पनि उत्तिकै दख्खल राख्ने व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँको निधनप्रति सञ्चार जगत्, राजनीतिक वृत्त दुःखित भएको छ । उहाँको निधनले रेडियो आन्दोलन र समग्र रेडियो जगतलाई अतुलनीय क्षति पुगेको छ । सञ्चार जगतमा उल्लेख्य योगदान पूर्याएवापत उहाँलाई गतवर्ष राष्ट्रपतिले विभूषित समेत गर्नुभएको थियो ।

सप्तकोसी एफ.एम.का अध्यक्ष प्रदीप नेपाल, प्रबन्ध निर्देशक प्रेम बस्नेत सहित सप्तकोसी एफ.एम. परिवारले वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 

उप प्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री सेरधन राई, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, पूर्व पर्यटनमन्त्री योगेश भट्टराइ, प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, अन्य जनप्रतिनिधि लगाएत विभिन्न राजनीतिक दलका नेताहरुले न्यौपानेको निधनमा दुःखी भएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

न्यौपानेको निधनमा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश १, सुनसरी साखा, प्रेस चौतारी नेपाल सुनसरी, नेपाल प्रेस युनियन सुनसरी, ब्रोेडकास्टिङ एसोसियसन नेपाल, सेयरकास्ट इनिसियटिभ, एन्टेना फाउण्डेसन लगाएत विभिन्न सङ्घसंस्थाले पनि शोक वक्तव्य जारी गरेका छन् । 

इटहरीबाट संचालन भइरहेका इटहरी, तरहरा र नमस्ते एफ.एम.ले संयुक्त विज्ञप्ति जारी गर्दै स्वतन्त्र रेडियोहरुको व्यवसायीक विकाशमा न्यौपाने सक्रिय रहेको उल्लेख गरेका छन् । उहाँको निधनमा सञ्चारकर्मी, समाजसेवीले पनि दुःखी भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

ताप्लेजुङको ढुंगेसाँधुमा २०२७ साल फागुन १७ गते जन्मनु भएका न्यौपाने सप्तकोशी एफ.एम.मा स्थापनाकाल देखिनै आबद्ध हुनुहुन्थ्यो । उहाँका एक छोरा, छोरी र श्रीमती हुनुहुन्छ ।
 

न्यौपानेले कोरोना कहर कै बिच गत बर्ष नेपाल टेलिभिजन इटहरीमा दिनुभएको अन्तरवार्ता :-

 

 

सप्तकोशी एफ.एम. परिवारको श्रद्धाञ्जली

https://fb.watch/5NvNKmrgL8/  

तपाईको प्रतिक्रिया