खेलकुद

'मेरा लेख दुनियाँलाई मन पर्छ, तैँलाई चाहिँ मन नपर्दो रहेछ'

मंगलबार चैत २४, २०७७/ Tuesday 04-06-21

२०५१ साल असारमा प्रकाशित सासंक त्रैमासिकको पाँचौँ अङ्कलाई हामीले सीके प्रसाईं र द्रोणचार्य क्षेत्री अङ्कका रूपमा प्रकाशित गरेका थियौँ । आधा सीके र आधा द्रोणचार्यका बारेमा सामग्रीहरू छापिएका थिए । पत्रिका तयार भएपछि एकदिन सासंक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा र म पत्रिका बोकेर गिरिराजकुमारी प्रसाईंलाई भेट्न गयौँ ।

एकप्रति पत्रिका उहाँका हातमा राखिदिएपछि उहाँले पत्रिकालाई वर्काईफर्काई हेर्नुभयो । केही पढ्नु पनि भयो । निकैबेर पत्रिकामा घोरिएपछि हामीतिर हेरेर भन्नुभयो, ‘मलाई प्रसाईंजीका बारेमा अरूले लेखेका संस्मरणहरूभन्दा उहाँले नै लेख्नु भएका लेखहरूको एउटा किताब निकाल्न पाए हुन्थ्यो भन्ने लागेको छ । पहिलापहिला उहाँले लेखेर सुनाउँदा म त्यति ध्यानदिन्न थिएँ । कहिले कहिले उहाँले कस्तो लाग्यो भनेर सोध्दा मनपरेन पनि भनिदिन्थेँ । मैले त्यसो भन्दा मसँग रिसाउँदै भन्नुहुन्थ्यो- मेरा लेख दुनियाँलाई मनपर्छ, तैँलाईचाहिँ मन नपर्दो रहेछ । साँच्चै अचेल उहाँका यहाँ घरमा भएका लेखहरू पढ्छु । सारै राम्रा लाग्छन् । कसैले यी सबै लेखहरू भेला गरिदिए, छाप्ने खर्च जे जति लाग्छ म बेहोर्ने थिएँ ।’

उहाँका कुरा सुनेर छविलाल दाइ र म उत्साहित भयौँ, ‘हजुरले खर्चको व्यवस्था गर्ने भए हामी लेख भेला गर्न सक्छौँ ।’ हामीले सोचेका थियौँ– सीकेका पहिल्यै छापिइसकेका लेख भेला गर्न के समस्या होला र ! उहाँका लेखहरू त जसले पनि समेटेर राखेका हुन्छन् नि ।

तर, जब साँच्चै लेखहरू खोज्न थाल्यौँ अनि हामीले थाहा पायौँ, नसकिने काम आँटेछौँ । सीकेका लेख नपढ्ने कोही थिएन तर त्यसलाई समेटेर राख्ने पनि कोही थिएनन् । उहाँले भन्नु त भयो तर घरमै पनि उति धेरै केही रहेनछ । जहाँजहाँ भेट्न सकिएला भन्ने अनुमान थियो, त्यहाँ त झन् एक प्रति पनि थिएनन् । खोज्ने क्रममा जनमञ्च साप्ताहिकका धेरै प्रति लोकराज ढकालसँग रहेछन्, त्यहाँबाट ल्याइयो । केही राष्ट्रपुकारका प्रतिहरू मसँग थिए तर सिङ्गो पुस्तकै हुन पुग्ने सामग्रीहरू झापामा भेला हुन सकेनन् ।

हामीले सोच्यौँ अब होमनाथ दाहालबाहेक अरूबाट पार नलाग्ने भो । अनि छविलाल दाइ र म काठमाडौं गयौँ । समय मिलाएर हामीले होमनाथ दाइलाई भेट्यौँ । उहाँले भन्नु भो, ‘आफूसँग भएका सबै पत्रिकाहरू समयसमयमा प्रहरीले छापा मार्दा सबै लाने गरेकाले पञ्चायतकालका राष्ट्रपुकारका कुनै अङ्कहरू पनि छैनन् । एउटा उपाय हुनसक्छ, छापिएका प्रत्येक अङ्क प्रेस काउन्सिलमा पठाउनुपर्थ्याे । एकपल्ट गोपाल दासजीलाई गएर भेट्नोस्, उहाँ सीकेको अति घनिष्ठ हुनुहुन्थ्यो । उहाँले मद्दत गर्न सक्नु हुन्छ ।’

होमनाथ दाइकोमा पुग्नुअघि हामी मदन पुरस्कार गुठीमा पुगेका थियौँ ।  ज्ञानु आमाले कमलमणि दीक्षितलाई एउटा पत्र लेखिदिनु भएको थियो । उहाँले पत्र हेरेर हामीले गर्न लागेको कामप्रति अति प्रशन्न हुँदै पत्रिकाको अवस्था एकदमै अव्यवस्थित छ, कसरी भेट्नुहोला भन्दै पुस्तकालयभित्र लैजानु भयो । त्यहाँभित्र पत्रिकाको अवस्था देखेपछि हाम्रो आँट फेरि हारेको थियो । त्यहाँभित्रबाट सीकेलाई खोतलेर निकाल्न असम्भव देखेपछि हामी होमनाथ दाइकोमा पुगेका थियौँ । उहाँले प्रेस काउन्सिलतिर जाने फराक बाटो देखाइ दिएपछि हामी फुर्किदै त्यहाँ पुग्यौँ ।

तात्कालीन प्रेस काउन्सिल अध्यक्ष गोपालदास श्रेष्ठलाई भेटेर हाम्रो कामको उद्देश्य बताएपछि उहाँ पनि अत्यन्त खुसी हुनुभयो । उहाँले भन्नु भयो– यस्तै काम गर्नकै लागि त हो यो प्रेस काउन्सिलले पत्रिकाहरू यसरी व्यवस्थित गरेर राख्ने गरेको । बहुत राम्रो काम गर्न लाग्नुभएछ । यहाँ भएका र तपाईंहरूलाई काम लाग्ने कुराका लागि काउन्सिल सदा खुल्ला छ । उहाँको कुरा सुनेपछि हाम्रा मनमा फेरि पखेटा लागे ।

उहाँले पुस्तकालयको कर्मचारीलाई बोलाएर हामीले मागेका सबै सामग्री उपलब्ध गराई दिनू र आवश्यक परे फोटोकपी गर्न बाहिर लानु परे पनि प्रकृया पुर्‍याएर दिनू भन्नुभयो ।

तपाईको प्रतिक्रिया