दक्षिण एसियाका प्रथम कट्टर नारीवादी, जसले महिला मुक्तिको बाटो देखाए
थेरावेद बौद्ध धर्मको पाली ग्रन्थअनुसार बुद्धले स्थापना गरेको प्रथम सङ्घमा महिलाहरूलाई निषेध गरिएको थियो । उनकी सौतेली आमा एवम् सानिमा रानी महाप्रजापति गौतमीले आफ्नो छोराको शिक्षाबाट प्रभावित भएर सन्न्यासी हुने निर्णय गरिन् तर बुद्धको सङ्घमा उनलाई पनि स्थान थिएन ।
त्यसैले, आफ्ना ५ सय समर्थकसहित उनी वैशाली पुगिन्, जहाँ बुद्ध आफ्नो शिक्षा दिइरहेका थिए । उनी बुद्धको सङ्घमा महिलालाई स्थान दिलाउन कटिवद्ध थिइन् । महिलालाई सङ्घमा प्रवेशको अनुमति दिन बुद्धसँग उनले तीन पटक अनुरोध गरिन्, तर तीनै पटक बुद्धले अस्वीकार गरे ।
अंगुत्तर निकायमा उल्लेख छ, ‘त्यसपछि महाप्रजापति गौतमी माटोसरीका आफ्ना खाली खुट्टा र धुलोले ढाकिएको शरीर लिएर थकित मुद्रामा रूँदै ढोकामा उभिइरहिन् ।’
उनको दृढ संकल्पबाट प्रभावित भएर बुद्धका शिष्य आनन्द उनको पक्षमा उभिएपछि बुद्धले आफ्नो निर्णय परिवर्तन गरे । सम्भवत: यो इतिहासमा महिलाले घरको सङ्घार नाघेर सार्वजनिक वृत्तमा प्रवेश गरेको पहिलो लिखित घटना हुनुपर्छ ।
दक्षिण एसियाको इतिहास भक्ति परम्परा र त्यसपछिका अक्का महादेवी, लाल देद, अंदल वा मीराजस्ता महिला सन्तहरूको कथाले भरपूर छ । उनीहरू सबै घरको चौघेराभित्रको जीवन र विवाहको संस्थालाई अस्वीकार गर्दै आध्यात्मिक जीवनको खोजीमा निस्किएका छन् । तर, वंश कायम राख्ने र महिलाका लागि निर्धारित संस्कारी जिम्मेवारी पूरा गर्ने परम्परागत मान्यताविरुद्ध उभिने सन्त महिलाहरूले अपवादका रूपमा मात्रै सम्मानित स्थान पाएका छन् ।
ईसापूर्व तेस्रो शताब्दीतिर सङ्कलित थेरीगाथाका प्रमाणअनुसार ती प्रथम बौद्ध भिक्षुणीहरू यस उपमहाद्विपका त्यस कालखण्डका अग्रणी सन्न्यासी महिलाहरू थिए । थेरीगाथामा सङ्कलित कविताहरूले महिलालहरूको एक समुदायले अलग किसिमको जीवन अँगाल्न महिलाहरूलाई आग्रह गरेको खुलासा गर्छ । उनीहरूले विद्रोह गरेर सन्न्यास लिँदै महिलाको जीवनको प्रत्येक पलमा शासन गर्ने पितृसत्तात्मक सामाजिक मान्यताहरू अस्वीकार गरेका थिए ।
थेरीहरू बौद्ध बिहारको संरचनामा माथिल्लो स्थानामा रहेका आध्यात्मिक रूपमा सुशिक्षित र प्रबुद्ध मानिएका महिलाहरू हुन् । थेरीगाथा उनीहरूले नै सिर्जना गरेका श्लोकहरूको सङ्कलन हो । अध्येता नोना ओलिभियाले आफ्नो लेख ‘वुमेन बुद्धिस्ट मास्टर्स’ (इन्टरनेसनल जर्नल अफ धर्म स्टडिज, २०१७) मा उल्लेख गरेअनुसार सङ्घमा भएका केही व्यक्तिहरू शील, अभ्यास र अनुशासनमा अद्वितीय रहेको भन्दै बुद्धले प्रशंसा गरेका छन्, जसमध्ये १३ जना भिक्षुणी थिए । यिनै १३ भिक्षुणीमध्ये ११ जना थेरीगाथामा भएका श्लोकका रचनाकार हुन् ।
बौद्ध साहित्यका विज्ञ तथा थेरीगाथाका अनुवादक चार्ल्स ह्यालिसेले हार्वर्ड विश्वविद्यालयको ‘मूर्ति क्लासिकल लाइब्रेरी अफ इन्डिया’का लागि लिखित पाठको परिचयमा उल्लेख गरेअनुसार यो महिलाद्वारा रचिएको साहित्यको संसारकै पहिलो सङ्कलित स्वरुप हो । यो सङ्कलनमा रहेका केही सुरुवातीकालका कविताहरू रेकर्डमा रहेकामध्ये भारतीय महिलाद्वारा रचित प्रथम कविता हुन सक्ने पनि उनले औँल्याएका छन् । ह्यालिसेले यो सङ्कलनमा रहेकामध्ये सबैभन्दा पछिल्ला कविताहरू ईसापूर्व तेस्रो शताब्दीको अन्त्यतिर रचना भएको उल्लेख गरेका छन् । यी कविता भारतका विभिन्न स्थानीय भाषामा रचना भएको र पछि थेरावेद बुद्धिज्मका ग्रन्थहरू भएको पालीमा अनुदित भएको हुन सक्ने उनको अनुमान छ ।
बुद्धको शिक्षा ग्रहण गरेपछि यी असाधारण सन्त महिलाहरू पूर्णत: परिवर्तन भएको र भिक्षुणी अस्तित्व रोजेको थेरीगाथाका श्लोकहरूबाट देखिन्छ । यसका श्लोकहरूले बुद्धको सम्पर्कमा आउनुभन्दा अघिको उनीहरूको जीवनबारे पनि बताउँछन् । उनीहरूमध्ये कतिपयले परिस्थिति वा आध्यात्मकिताप्रतिको गहिरो जिज्ञासाका कारण बुद्धलाई भेट्नुअघि नै आध्यात्मिक यात्रा सुरु गरेको देखिन्छ ।
थेरी मित्तकली लेख्छिन्, ‘म आत्मविश्वासका साथ घरबाट सन्न्यासमा गएँ/ म प्राप्ति र स्वीकार्यताका लागि भौँतारिइरहेँ ।’
अथवा भद्दाका यो कवितांश हेरौँ, ‘एकपटक म कपाल मुण्डन गरेर भौँतारिएँ/ एकसरो मात्रै कपडा लगाएर, धुलोले ढाकिएर/ त्यो दिन म बाहिर निस्किएँ, गिजाकुट पर्वतको आश्रमबाट/जहाँ मैले बेदाग बुद्धलाई भिक्षुहरूबाट घेरिएको देखेँ ।’
हाइकुजस्ता छोटादेखि लिएर ४० पङ्क्ति भएका लामा भजनसम्म प्रत्येक श्लोकमा महिलाहरूका यस्ता कथा पाइन्छ । यहाँ महिलाहरूले घरपरिवार छोडेर, कपाल मुण्डन गरेर, सन्न्यासी भेष धारण गरेर सङ्घमा बस्न सुरु गरेका कथा छन् । ‘दिवा-आश्रम’मा, बाटोमा र कहिलकाँही जंगलसमेत बसेको र भिक्षा माग्दै सडकमा हिँडेका कथाहरू यहाँ छन् ।
थेरीगाथाको वास्तविक साहित्यिक मूल्य यी श्लोकहरूको जीवन्ततामा छ । तर, ओलिभियाले भनेजस्तै यत्तिकै महत्त्वपूर्ण पक्ष थेरीहरूको अधिकांश शिक्षा तत्कालीन समाजमा महिलाको भोगाइमा आधारित हुनु पनि हो । अर्को शब्दमा भन्दा, प्राचीन समाजका महिलाका जीवनकथा र संस्मरणहरू, जहाँ महिलाहरूले आनन्दको जीवन बिताइरहेका थिए, जसले दुर्व्यवहार भोगेका थिए, जसको परिवार थियो वा जसले प्रियजन गुमाएका थिए, उनीहरू सबै स्वतन्त्रताको खोजीमा थिए । यस्तो स्वतन्त्रता बुद्धको सङ्घमा उनीहरूले प्राप्त गरे । सङ्घको जीवन निकै कठिन थियो तर उनीहरूले यसलाई आफूले कल्पना गर्न सक्ने एक मात्र मुक्तिमार्ग भएको बताएका छन् ।
वास्तवमा ती महिलाहरू त्यस्ता चुनौतीविरुद्ध उठेका थिए– जुन अहिले कल्पना गर्न पनि गाह्रो छ ।
उनीहरू यस्तो समयमा बाँचेका थिए, जहाँ सांस्कृतिक मान्यताहरूले समाजमा महिलालाई दासको स्थानमा राखेको थियो । बुद्धका भिक्षुणीहरू यस्तो अभेद्य मान्यताविरुद्ध उठे र उनीहरूले आफू र आफ्नो जीवनलाई पूर्णत: रूपान्तरण गरे ।
फेरि पहिलेको अवस्थामा नफर्किने गरी पूर्णत: रूपान्तरणको अवधारणा महत्त्वपूर्ण थियो । इतिहासकार तथा नारीवादी विद्वान् विजया रामास्वामीले आफ्नो पुस्तक ‘वाकिङ नेक्ड: वुमन, स्प्रिचुआलिटी एन्ड सोसाइटी इन साउथ इन्डिया’ मा लेखेकी छिन्, ‘पुरुष सन्न्यासीहरूको भन्दा विपरीत महिला सन्न्यासीहरूका लागि सन्न्यासको मार्ग पछाडि फर्किनै नसकिने मार्ग थियो । सम्भवत: समाजबाट बाहिर निस्किसकेका महिला सन्न्यासीनहरू कहिल्यै कसैगरी पितृसत्तात्मक सामाजिक मान्यतामा फर्किन चाहेनन् ।
एकअर्कालाई स्वतन्त्र गर्ने र आफ्नै मार्ग पहिल्याउन सँगै अगाडि जाने परम्परा दक्षिण एसियाका यी प्राचीन सन्त महिलाहरूले बसालेका थिए, मुक्तिको खोजीमा घर छोडेर जाने र अरु महिलाहरूसँग सहकार्य गर्ने अरु धेरै दक्षिण एसियाली महिलाहरूले यो बाटो पछ्याएका छन् ।
यसैलाई हेरेर यी बौद्ध महिला सन्तहरूको व्यक्तित्वमा र उनीहरूको लेखनमा हामीले दक्षिण एसियामा महिला राजनीति सङ्गठित भएको थियो भन्न सकिन्छ । किनभने, महिलालाई उनको जीवनभर सन्तानोत्पादन र घरेलु व्यवहारमा सीमित गरिएको बेला उनीहरूले जे गरे, त्यसलाई कट्टर राजनीतिक कदम मान्नुपर्ने हुन्छ । उनीहरूले घरको चौघेरा नाघेर बाहिर निस्किए, जति नै महत्त्वपूर्ण भए पनि आफ्नो परिवार त्याग गरे, समर्थकहरूको गाउँ र शहरहरूसँग आफूलाई परिचित गराए, आफूजस्तै महिलाहरूले भरिएका सङ्घहरू बनाए । उनीहरूले यो सबै उच्च दार्शनिक र आध्यात्मिक सत्यको खोजमा गरेका थिए, जुन त्यसबेलाको समयअनुसार आफैँमा कट्टर राजनीतिक कदम हो ।
यी सबैको बावजुद थेरीगाथाको सबैभन्दा बलियो विषयवस्तु स्वतन्त्रताको बोध हो । स्वतन्त्रताको यो बोध विभिन्न श्लोकमा पटकपटक प्रकट भइरहन्छ । महिलाहरूसँग समिति विकल्प मात्रै भएको सन्दर्भमा यसका कतिपय कुरा अहिले पनि सान्दर्भिक छ । थेरी मुत्ता लेख्छिन्, ‘... म अहिले धेरै स्वत्नत्र छु, तीन कुटिल चीजबाट साँच्चिकै स्वतन्त्र छु/ओखल, मुसल र श्रीमान् तथा उसका कुटिल कुराहरूबाट स्वतन्त्र छु ।’
ह्यालिसे अझै परसम्म जान्छन्, ‘थेरीगाथामा उल्लेखित भिक्षुणी महिलाहरूको संसार यौनिक समानताको संसार हो, जुन साधारण जीवनमा महिला र पुरुषबीच विद्यमान सामाजिक असमानताको ठीक विपरीत छ । यसले महिलाको मात्रै नभएर पुरुषको पनि स्वतन्त्रतामा जोड दिएको छ ।’
सांस्कृतिक मान्यताबाट अलग हुनु विचलनको आत्मघोषणा बुझिने त्यस्तो कठिन समयमा आफ्ना लागि यस्तो कट्टर मार्गको परिकल्पना गर्ने ती प्रथम महिलाहरू को थिए ? उनीहरूमध्ये तीन जनालाई अझै नजिकबाट हेरौँ ।
ती महिला जसले हत्कडी चुँडाए, गौतमी बुद्धकी आमा मायाकी बहिनी थिइन् । बुद्धलाई जन्म दिएको केही दिनमा मायाको मृत्यु भएको थियो । माया र गौतमी दुवैले एकै शाक्य राजासँग विवाह गरेका थिए । दिदीको मृत्युपछि गौतमीले बुद्धको हेरचाह गरिन् र आफ्ना जैविक सन्तानसँगै बुद्धलाई हुर्काइन् । विद्वान्हरूका अनुसार गौतमीले आफ्नो केश मुण्डन गरिन्, सन्न्यासी भेष धारण गरिन् र उल्लेख्य संख्यामा रहेका आफ्ना समर्थक शाक्य महिलाहरूसँगै बुद्धलाई पछ्याउँदै कपिलवस्तुबाट वैशाली पुगिन् ।
चार्ल्स ह्यालिसे लेख्छन्, ‘महाप्रजापति गौतमीलाई ठूलो संख्यामा रहेका सुशिक्षित भिक्षुणीहरूले साथ दिएका थिए । उनीहरू सबै ज्येष्ठ र वरिष्ठ भिक्षुणीहरू थिए । लामो समयदेखि सन्न्यासी जीवन बाँचिरहेका उनीहरू सबैलाई राजाले पनि चिन्थे ।’ भिक्षुणी सङ्घको प्रमुखका रूपमा गौतमीले अरु धेरै महिलाहरूलाई सङ्घमा प्रवेश दिइन् । थेरीगाथाका रचयिताहरूले उनको महत्व दर्शाउँदै पटकपटक उनका बारेमा चर्चा गरेका छन् । श्लोकहरूमा उनलाई सङ्घकी महामाताको रूपमा चित्रित गरिएको छ, जसले घरेलु जिम्मेवारीका साङ्लाहरू चुँडाउँदै, राजकीय सुरक्षालाई परित्याग गर्दै अरु महिला समर्थकसँगै सन्न्यासी जीवन रोजिन् ।
हुन त उनी बुद्धकी आमा भएकाले आफ्नो छोराबाट प्रभावित भएकी थिइन् पनि भन्न सकिन्छ । तर, त्योभन्दा धेरै उनी बुद्ध र उनको शिक्षाबाट प्रभावित थिइन् भन्ने बुझ्न कठिन छैन ।
यस्तो आलोचनाको जवाफ खोज्न हामीले अर्की भिक्षुणी धम्मदिन्नाको चर्चा गर्नुपर्ने हुन्छ । बौद्धविज्ञ भिक्षु अनालयोले आफ्ना विभिन्न लेखनमा धम्मदिन्नाबारे अंगुत्तर निकायलाई उद्धृत गरेका छन् ।
पहिले उनका श्रीमान् विशाख बुद्धको शिक्षा सुनेर सन्न्यास लिने निर्णय गरे । यसपछि उनले धम्मदिन्नालाई तिमी के गर्छौं भनेर सोधे । उनले आफू पनि सन्न्यासी हुने बताइन् । पछि विशाखले आफ्नो मन बदले र गृहस्थी जीवनमै रहे, धम्मदिन्ना भने भिक्षुणी बनेर सङ्घमा भर्ती भइन् । बाँकी जीवन उनी बौद्ध सङ्घमा अरु भिक्षुणीहरूसँगै बसिन् र ध्यान साधनामा पारङ्गत भइन् ।
उनले रचना गरेका थेरीगाथाका यी पङ्क्ति विशिष्ट छन्, ‘जसले मुक्तिको चाहनालाई अघि बढाएकी छन् । यसका निमित्त प्रयत्नशील छिन्, यसबारे प्रस्ट हुनु जरुरी छ/ जसको मन इन्द्रीयको आनन्दमा अल्झिएको छैन, जो यसलाई नियन्त्रण गर्न सक्षम छ, निश्चय नै मुक्त हुनेछ ।’
मलाई एकदमै दिलचस्पी लागेको कथा भने थेरी उप्पलावन्नाको हो । थेरावेद परम्परामा उनलाई व्यापारीकी सुन्दरी छोरीको रूपमा व्याख्या गरिएको पाइन्छ । विवाह गर्ने उमेर भएसँगै उनको सुन्दरताका कारण एकपछि अर्को गर्दै पुरुषहरू आउन थाले । उनका पिता उनीहरूमध्ये कसैलाई पनि नकारात्मक जवाफ दिन चाहँदैन थिए । त्यसैले, उनले आफ्नी छोरीलाई सन्न्यास लिन आग्रह गरे । उनले तुरुन्तै सहमति जनाइन् र सन्न्यास ग्रहण गरिन् । उनलाई बुद्धले असाधारण मानसिक क्षमताका लागि प्रशंसा गरेका छन् ।
एकपटक जब उप्पलावन्ना जङ्गलको कुटीमा बसिरहेकी हुन्छिन्, उनी एकजना आफन्तबाटै बलात्कृत हुन्छिन् । यो घटनापछि बुद्धले भिक्षुणीहरूले वनमा बस्न नहुने घोषणा गर्छन् । महिलाहरूलाई यौन हिंसाबाट ‘संरक्षण’ गर्न उनीहरूको स्वतन्त्रतामा नियन्त्रण गर्ने कुरा प्राचीन समयदखि नै थियो भन्ने प्रस्ट छ । थेरीगाथाका यो श्लोकमा उप्पलावन्ना बलात्कारको धम्की पाएको बेला आफूले निडरताका साथ जवाफ फर्काएको उल्लेख गर्छिन्, ‘म यत्तिकै हराउन सक्छु/ वा तिम्रो पेटभित्र जान सक्छु/ म तिम्रा आँखीभौँ बीचमा पनि हुन सक्छु/ जहाँ भए पनि/ तिमीले देख्ने छैनौ/ म कहाँ उभिएको छु ।’
उनको मानसिक क्षमताका बारेमा ओलिभिया लेख्छिन्, ‘साधारणभन्दा परको शक्ति ।’ आफ्नो आत्मविश्वासबारे थेरीगाथामा उप्पलावन्ना भन्छिन्, ‘यो शक्तिबाट, म शून्यबाटै/ चार घोडाहरूले हाँकिरहेको रथ बनाइदिन सक्छु ।’
यी असाधारण महिलाहरूको अर्को बलियो पक्ष भगिनीत्व हो । सङ्घमा भएका धेरै भिक्षुणीलाई गौतमी र पतचाराजस्ता भिक्षुणीहरूले भर्ती गरेका थिए । त्यसपछि उनीहरूले अरु भिक्षुणी भर्ती गर्दै गए । ह्यालिसे लेख्छन्, ‘... महिलाहरूको स-साना समूह जो समान भोगाइ र आत्मीयता र ममताको सम्बन्धले एक ठाउँमा जोडिएका थिए ।’
सोना नाम गरेकी थेरीले प्राचीन समयको शिक्षा प्रदान गर्ने रोचक परम्पराबारे उल्लेख गरेकी छन्, ‘मैले यो शरीरबाट दश छोराहरूलाई जन्मदिएपछिको कुरा हो/ जतिबेला म कमजोर र वृद्धा भइसकेकी थिएँ, मैले एक भिक्षुणीसँग कुरा गरेँ/उनले मलाई धम्म सिकाइन् ।’
महिलाहरू कहिल्यै मुक्त नहुने घरेलु कामको चापबाट मुक्त हुनुपर्छ भन्ने भाष्य यी प्रभावशाली महिलाहरूले थेरीगाथामा अनेकौँ पटक दोहोर्याएका छन् । थेरी इशादेशीले रचना गरेको थेरीगाथामा भएको सबैभन्दा लामोमध्ये एउटा कवितामा भिक्षुणी जिनादत्त नआउँदासम्म आफ्नो जीवन दु:ख र बन्धनले थिचिएको उल्लेख छ, ‘त्यसपछि जिनादत्त खाना खोज्दै मेरो पिताको घरमा आइन्/ स्वाभाविक रूपमा उनी अनुशासित थिइन्, शिक्षित र शीलवती थिइन् ।’ त्यसपछि इशादेशीले घर छोडिन् र जिनादत्तको अभिभावकत्वमा भिक्षुणी भएर सङ्घमा प्रवेश गरिन् ।
एकअर्कालाई स्वतन्त्र गर्ने र आफ्नै मार्ग पहिल्याउन सँगै अगाडि जाने परम्परा दक्षिण एसियाका यी प्राचीन सन्त महिलाहरूले बसालेका थिए, मुक्तिको खोजीमा घर छोडेर जाने र अरु महिलाहरूसँग सहकार्य गर्ने अरु धेरै दक्षिण एसियाली महिलाहरूले यो बाटो पछ्याएका छन् । कहिल्यै बिर्सन नसकिने यो प्राचीन महिलाहरूको कथाको शक्ति यही हो ।
तपाईको प्रतिक्रिया