घुमफिर/भ्रमण

ओली– खनाल/नेपाल पार्टी विभाजनतिर, वामदेव कता ?

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

काठमाडौं । “केपी शर्मा ओलीको दिमाग परिवर्तन गर्न सक्ने कोही मोटिभेटर छ कि, कोही धामी झाँक्री छन् कि, कोही मनोवैज्ञानिक छन् कि, कोही हिम्मतवाला मानिस छन् कि ? हाम्रो वामदेव गौतम अहिले पनि कोसिस गर्दै हुनुहुन्छ । मैले भनेँ– बालुवाटारको बालुवा पेलेर तेल निस्किनेवाला छैन । यो मेरो निष्कर्ष हो । र, हाम्रो निष्कर्ष हो  ।

तर, पनि कतिपय कमरेडलाई लागेको होला, अझै पनि तेल निस्कन्छ कि, अझै पेलेको पेल्यै गर्नुहोस् ननिक्लिउञ्जेलसम्म त्यहीँ रुँगेर बस्नुस्, भन्नु केही पनि छैन । अस्ति मैले वामदेव कमरेडलाई पनि भनेँ– फेरि कमरेड कोसिस गर्नुस् । उहाँले पनि भन्नुभयो– म त थाकिसकेँ । केपी ओलीलाई सुधार्न सकिँदैन । त्यसो हुँदा मलाई विश्वास छ, वामदेव कमरेड र हामी सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने छौँ । केपी ओलीका विरुद्धमा एकताबद्ध भएर जान्छौँ ।”

आइतबार काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रममा एमाले नेता वामदेव गौतमप्रति माधवकुमार नेपालले गरेको भरोसा हो यो ।

 

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकृकीत मार्क्सवादी, लेनिनवादी) अर्थात् एमाले विभाजनको सन्निकट छ । फागुन २३ को फैसलापछि प्रधानमन्त्री ओली ‘एक्लै’ अघि बढ्न खोजेपछि असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालको समूह अलग्गै पार्टी निर्माणको अभियानमा लागेको छ ।

पार्टीभित्र तीव्र ध्रुवीकरण बढेका बेला र अन्तरसङ्घर्ष चुलिएका बेला निर्णायक भूमिका खेलेका वामदेव फुटको उत्कर्षमा भने चुपचाप छन् ।

 

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटनको बाटो रोजेर मुलुकलाई निर्वाचनतर्फ हुत्याउन खोजेपछि नेकपा दुई ध्रुवमा विभक्त भयो । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेता सडक संघर्षतिर केन्द्रित भए । पार्टी फुटतर्फ अग्रसर भयो । ‘दुई लाइन (पार्टी अन्तर) संघर्षका बेला कुनै समय ओलीविरोधी कित्तामा उभिएका वामदेव त्यतिबेला मझधारमा उभिए । एकीकृत पार्टी आन्दोलनलाई क्षतविक्षत तुल्याउनु हुँदैन भनेर धुम्बाराही र पेरिसडाँडा कतैतिर कित्ताकाट भएनन् । बरु, एकता अभियान घोषणा गर्न धोबीघाट पुगे ।

नेकपा दल आधिकारिकता विवादको दलदलमा फसिरहँदा अदालतले पुरानै घटकमा फर्काइदियो । एमाले र माओवादी केन्द्र एकताअघिकै अवस्थामा पुगे ।

फागुन २८ गते पार्टी अध्यक्षसमेत रहेका ओलीले खनाल–नेपाल समूहलाई जानकारी नै नदिई केन्द्रीय कमिटीको बैठक राखेर विधान संशोधन, माओवादी केन्द्रबाट रहेकाहरूलाई केन्द्रीय कमिटीमा थप र महाधिवेशनको तिथि तयसमेत गरेपछि एमाले पनि फुटको डिलमा छ । खनाल–नेपाल समूह अलग पार्टी निर्माणको ध्येयका साथ समानान्तर गतिविधिमा अघि बढेपछि ‘चमत्कार’ बाहेकको अवस्थामा एमाले एकताबद्ध रहने देखिँदैन ।

यस्तो बेलामा गौतम प्रतिक्रियाविहीन छन् । माघ १४ गते घोषणा गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’ पनि निस्प्रभावी बनेको छ ।
६ दिनअघि, चैत १७ गते नेता नेपाल र वामदेव गौतमबीच नागपोखरी समीपको एक कार्यालयमा कुराकानी भएको थियो ।

भेटपछि उत्साहित बन्न पुगेका नेता नेपालले भोलिपल्टै पोखरामा आयोजित कास्की जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वामदेव पनि सँगै रहेको बताए ।

काठमाडौंको जिल्ला भेलामा पनि नेता नेपालको आसय त्यही थियो ।

तर, पार्टी केन्द्रीय सदस्य तथा वामदेवनिकट नेता हरि पराजुली भने वामदेव अझै पनि पार्टी एकताको पक्षमा रहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया