प्रबिधि

हामी हिँड्दा खर्च हुने ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ, नेपालका यी वैज्ञानिक त्यसैमा अनुसन्धान गर्दैछन्

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, हाम्रा हरेक क्रियाकलापमा खेर गइरहेका ऊर्जालाई पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

अनुमान गर्नाेस त, दिनभरमा हामी कति यात्रा गर्छौं ? काठमाडौंका सडकमा मात्र कति सवारीसाधन कुद्छन् ? अनि हामी हिँड्दा वा सडकमा सवारी चल्दैगर्दा दैनिक कति ऊर्जा खेर गइरहेकाे होला ?

हो, यस्तै खेर गइरहेको ऊर्जा सङ्कलन गरी विद्युत् उत्पादन गर्ने उद्देश्यका साथ विगत दुई वर्षदेखि नेपालभित्रै अनुसन्धान गरिरहेका छन्, डा. खगेन्द्र त्रिपाठी । ‘हामीले दैनिक जीवनमा गरिने क्रियाकलापबाट खेर गइरहेको ऊर्जाबाट विद्युत् निकाल्न सकिन्छ’, उनी भन्छन्, ‘त्यसैका बारेमा हामी नेपालमा अनुसन्धान गरिरहेका छौँ ।’

त्रिपाठी उदाहरण दिँदै भन्छन्, ‘जस्ताे कि ट्रेडमिलमा ट्राइबो इलेक्ट्रिक नानो जेनेरेटर जडान गरियो भने त्यसमा मानिस दौडँदा खेर गइरहेको ऊर्जालाई उक्त डिभाइसमार्फत उत्पन्न गर्न सकिन्छ । उनका अनुसार धेरै देशमा यो प्रविधिको विकास भइसकेकाे छ । यस्तो उपकरण हामीले आफ्नो शरीरमा पनि राख्न सक्छौँ । त्यसपछि हामी हिँडिरहँदा वा केही गरिरहँदा खेर गएको ऊर्जा उक्त उपकरणमा उत्पन्न भइरहन्छ ।’

 

खगेन्द्र त्रिपाठी

त्रिपाठीका अनुसार सडकमा कालोपत्रेको सट्टा निकै पातलो र बलियो ‘ग्राफिन’ पदार्थ बिछ्याइयाे भने सवारीसाधन आवतजावत हुँदा खेर जाने ऊर्जा पुनः प्रयोगमा ल्याउन सकिन्छ । ९ वर्ग सेन्टिमिटर बराबरको क्षेत्रफलबाट यो प्रविधि प्रयोग गरेर कम्तिमा एक मिलिभोल्ट विद्युत् निकाल्न सकिने उनकाे भनाइ छ । त्यसलाई वैकल्पिक ऊर्जाको स्रोतको रूपमा उपयोग गर्न सक्ने उनी बताउँछन् । 

कोरियाबाट फर्किएका त्रिपाठी दुई वर्षदेखि नेपालमै बसेर मटेरिअल साइन्स एन्ड इन्जिनियरिङको क्षेत्रमा काम गरिरहेका छन् ।
यो क्षेत्रमा काम गर्दा हतोत्साही गर्नेदेखि हौसला दिनेसम्म भेटिएको अनुभव छ । केही प्रतिष्ठित व्यक्तिले समेत आफूलाई पुनः विदेश जान सुझाव दिएको उनले बताए । तर, उनलाई विदेशी सुखसयलभन्दा नेपालभित्रकै सङ्घर्ष प्यारो लाग्यो ।

नेपालमा चुनौती मात्र होइन, प्रशस्त अवसर र सम्भावना पनि देखेका छन् त्रिपाठीले । भन्छन्, ’तर, केही समस्या यहाँको संरचनामा छ ।’ हरेक क्षेत्रलाई विज्ञ तथा दक्ष व्यक्तिभन्दा पनि कार्यकर्ता भर्तिकेन्द्रजस्ताे बनाइएकोप्रति उनको गुनासो छ ।

आफूले अहिलेसम्म कतैबाट सहयोग नपाएको उनी बताउँछन् । ‘सबैले सकारात्मक कुराचाहिँ गर्नुहुन्छ,’ त्रिपाठी भन्छन्, ‘तर न राज्यस्तरबाट कुनै पहल हुन सकेको छ, न कसैले चासो देखाएका छन् ।’

तपाईको प्रतिक्रिया