विश्व

भारतले कोभिसिल्ड निर्यातमा रोक लगायो, असर नेपालमा पनि

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

भारतले अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिन कोभिसिल्डको निर्यातमा रोक लगाएको छ । देशमा कोरोना संक्रमित फेरि बढ्न थालेसँगै भ्याक्सिनको माग बढ्ने भन्दै तत्कालका लागि कोभिडसिल्ड निर्यातमा रोक लगाएको विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

यसबाट अप्रिल अन्तिमसम्म भ्याक्सिन निर्यातमा असर पर्ने देखिएको छ । कोभ्याक्स योजनाअन्तर्गत पर्ने नेपालसहित १ सय ९० देशमा यसको असर पर्नेछ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा चलिरहेको कोभ्याक्स योजनाको उद्देश्य सबै देशमा कोरोना भ्याक्सिन सुनिश्चित गर्नु हो । भारतले अहिलेसम्म ७६ देशमा कोरोना भ्याक्सिनको करिब ६ करोड डोज पठाएको छ ।

अहिलेसम्म २० लाख डोज खोप खरिद गरेकाे नेपालले भारतबाट थप ५० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, अब खरिद प्रक्रिया नै राेकिएकाे छ । 

भारतले पहिलो चरणको खोप अभियानका लागि सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई दिएकाे थियाे । खोप आएसँगै सरकारले गत १४ माघदेखि खोप लगाउने अभियान चलाएको थियो । 

भारतले कोभिसिल्ड खोप उपलब्ध गराएपछि नेपालले पनि सोही खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियाे । जसअन्तर्गत पहिलो चरणमा २० लाख डोज खोप खरिद गर्ने सरकारले निर्णय गर्‍यो । सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप प्रतिडाेज ४ डलरमा किन्ने सहमति पनि गर्‍यो । 

खरिदका लागि सरकारले ८० प्रतिशत रकम बिक्रेता कम्पनीलाई तिरिसकेको छ । खोप आएपछि बाँकी २० प्रतिशत रकम पनि भुक्तानी गरिने सहमति छ । २० लाख डोजमध्ये १० लाख डोज खोप नेपाल आएपछि २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । 

तर, बाँकी १० लाख डोज खोप दिन सिरमले आनाकानी गरेपछि दोस्रो चरणको खोप अभियान बीचमै रोकिएकाे छ । ५० लाख डाेज खाेप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको नेपालले सहमतिअनुसार पाउनुपर्ने १० लाख डोज खोप पनि पाएको छैन । यही बेला भारतले काेभिसिल्ड निर्यातमा राेक लगाएकाे हाे । यद्यपि, याे सीमित समयका लागि मात्रै भएकाे भारतीय अधिकारीहरूकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया