उद्यम/इलम

सीपमूलक तालिममा करोडौँ खर्च, श्रमबजारमा दक्ष कामदारको अभाव

मंगलबार चैत २४, २०७७/ Tuesday 04-06-21

सरकारले निजीक्षेत्रसँग सहकार्य गरेर बर्सेनि वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । देशभित्रै रोजगारीको खोजीमा रहेका युवालाई समेत त्यस्तो तालिम दिइँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वार्षिक रूपमा सञ्चालन गर्दै आएको सीपमूलक तालिम रोजगारीको खोजीमा रहेका युवाले लिने गरेका छन् । तर, श्रम मन्त्रालयकै विभिन्न अध्ययनमा ७५ प्रतिशत अदक्ष (काममा दक्ष नभएका) कामदार लेबर भिसामा वैदेशिक रोजगारीमा जाने गरेको देखाएको छ । श्रम मन्त्रालयले दक्ष जनशक्ति उत्पादन गर्ने योजना अघि सारे पनि श्रम बजारमा दक्ष कामदारको अभाव रहेको मन्त्रालयकै अध्ययनले देखाएको छ । आन्तरिक र बाह्य श्रमबजारमा ठूलो संख्यामा कामदारको माग भए पनि सरकारले दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्र खोल्न सकेको छैन । जसका कारण श्रमबजारमा अदक्ष श्रमिकको बाहुल्यता छ । १८ विधामा निःशुल्क तालिम बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा देशभित्र रोजगारीको खोजीमा रहेको युवाका लागि १८ प्रकारका तालिम सञ्चालन गर्दै आएको छ । बोर्डका अनुसार हाउस किपिङ, कुक, वेटर, भान्सा सहयोगी, फ्रन्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्बर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, ब्युटिसियन, जुनियर ब्युटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेन्ट स्क्याफोल्डर, इलेक्ट्रिसियन, सिलाइबुनाइ, सैलुनलगायतका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ । बोर्डले चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरेको छ । त्यसका लागि १५ करोड बजेट विनियोजन भएको जनाइएको छ । गत आर्थिक वर्षमा बोर्डले १० हजार युवालाई निःशुल्क तालिम दिन १५ करोड बजेट विनियोजन गरेको थियो । तर, कोरोनाका कारण तालिम सञ्चालन भएन । हाल ७ हजार ३ सय ६० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गरिरहेको बोर्डले जनाएको छ । यसका लागि ५ करोड खर्च छुट्याइएको छ । तालिमप्रदायक संस्थासँग मिलेर वैदेशिक रोजगारीमा जाने तथा देशभित्रै रोजगारीको खोजीमा रहेका युवालाई वार्षिक रूपमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै आएको बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् । ‘बोर्डले वैदेशिक रोजगारीमा जान चाहने मात्र होइन, देशभित्रै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नसमेत तालिम सञ्चालन गरिरहेको छ । देशभित्र धेरै दक्ष जनशक्तिका आवश्यक छ,’ सुवेदीले भने, ‘सीप भएका कामदारको श्रम बजारमा माग धेरै भए पनि उत्पादन कम छ । श्रम बजारमा मागअनुसार दक्ष कामदार आपूर्ति हुन सकेको छैन ।’ सरकारले दक्ष श्रमशक्ति उत्पादन गर्न विशेष योजना बनाई निःशुल्क तालिमसँगै तालिम अवधिभर खाने र बस्ने सुविधासमेत दिने गरेको बोर्डको भनाइ छ । बोर्डले प्रदेश १ मा सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट भोजपुर तथा रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय इलाममा सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । यस्तै प्रदेश २ मा निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास तथा बीपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट धनुषा, बागमती प्रदेशमा बालाजु स्कुल अफ इञ्जिनियरिङ एन्ड टेक्नोलोजी, बनेपा पोलिटेक्निकल इन्स्टिच्युट, नारायणी बहुप्राविधिक शिक्षालय चितवन तथा जिरी प्राविधिक शिक्षालय दोलखामा सीप विकास तालिम सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशमा पोखरा प्राविधिक शिक्षालय पोखरा, लुम्बिनीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रुपन्देही, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङ र भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा तालिम सञ्चालन भइरहेको छ । त्यस्तै, कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यानमा पनि तालिम सञ्चालन भइरहको छ । सुदूरपश्चिम प्रदेशमा टीकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलालीमा बोर्डमार्फत प्रदान हुने सीप तालिम सञ्चालन भइरहेको छ । सन् २०२२ सम्ममा नेपाल सरकार तथा स्वीट्जरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारीमा जान चाहने ७ हजार जनालाई निःशुल्क तालिम दिने घोषणा गरेको छ । त्यसका लागि करिब २ अर्ब ३८ करोड रकम खर्च छुट्याइएको छ । यो रकम नेपाल सरकार र स्वीस सरकारको लगानीमा सीपमूलक तालिम सञ्चालनका लागि खर्च गरिँदै छ । सन् २०११ देखि २०१८ सम्म ९ हजार ४ सय ६५ जना वैदेशिक रोजगारीमा जान चाहने युवालाई तालिम सीपमूलक तालिम दिएको सामीले जानकारी दिएको छ । यो अवधिमा तालिम सञ्चालनमा १ अर्बभन्दा धेरै खर्च भएको थियो । वैदेशिक रोजगारीको खोजीमा खाडीका देश, मलेसिया अथवा अन्य देश जान चाहने युवालक्षित निःशुल्क तालिमका सम्बन्धमा भने यो क्षेत्रका अधिकांश कामदार नै बेखबर छन् । सरकारले सीपमूलक तालिमका लागि खर्च गरे पनि श्रम बजारमा दक्ष कामदारको अभाव हुने गरेको रोजगारदाता कम्पनी बताउँछन् । कहाँ जान्छन् निःशुल्क तालिम लिने युवा ? निःशुल्क सीपमूलक तालिम लिएका युवा कहाँ र के गर्दै छन् भन्ने विषयमा सम्बन्धित निकाय बेखबर छ । वैदेशिक रोजगारी वा स्वावलम्बी बनाउन सीपमूलक तालिम दिइए पनि युवाहरूले सोहीअनुसार काम गर्छन् गर्दैनन् भन्ने विषयमा बोर्डले खोजी गर्दैन । सरकारले खर्च गरेअनुसार के–कति संख्यामा युवाहरू रोजगार बने भन्ने वा उपलब्धि कति भयो भन्ने तथ्यांक राखेको पाइँदैन । अदक्ष कामदार रोजगारीमा जाँदा अन्य देशका श्रमिकको तुलनामा नेपाली कामदार कम तलबमै काम गर्न बाध्य छन् । विभिन्न संस्था र सरकारी निकायबाट सीपमूलक तालिम लिएका युवा वैदेशिक रोजगारीमा जान्छन् कि जाँदैनन् भन्ने विषयमा सरकार बेखर छ । सीप सिकेर विदेश जाँदा करार सम्झौताअनुसारकै काम पाउने र सीप नभएका श्रमिकले करारअनुसार तलब तथा कामसमेत नपाउने विदेशबाट फर्किएका कामदारको भनाइ छ । दक्ष कामदारलाई मात्र वैदेशिक रोजगारीमा पठाउने योजना अघि सार्दै वैदेशिक रोजगारीमा जान चाहने कामदारले कम्तीमा तीन महिनाको अनिवार्य तालिम लिनुपर्ने निर्देशिका वैदेशिक रोजगार विभागले तयार गरेको थियो । तर, यो निर्देशिका हालसम्म पनि कार्यान्वयनमा आएको छैन ।

तपाईको प्रतिक्रिया